निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश, त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा
बर्दिया | भदौ २, २०७९
बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो ।
निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश गर्यो । बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।
प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भेरीगङ्गा नगरपालिका– ५ का वडाध्यक्ष पे्रमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रासमा बढेको गुनासो गर्नुभयो । “एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डराइहेको अवस्था छ,” उहाँले भन्नुभयो, “निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपथ्र्यो ।”
मध्यवर्ती क्षेत्रमापर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । जङ्गलमा मानिसलाई आक्रमण गरेको तीन दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो । सोही बाघलाई बुधबार निकुञ्ज कर्मचरी, सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।
बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन् । प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन् । गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “निकुञ्जमा बाघको सङ्ख्या धेरै छ, मानिसको सिकार खोज्दै जतिबेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन ।” मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ १२ वर्ष बूढो हो । बूढो एवं शारीरिक रुपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन् । जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रुपमा उद्वार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्वार केन्द्रमा राखिएको छ ।
निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताउनुभयो । “उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,” उहाँले भन्नुभयो, “मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकी बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशुचौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो ।”
गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो । बाघलाई बेहोस् बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।
निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ । “गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौं,” प्रमुख संरक्षक अधिकृत श्रेष्ठले रासससँग भन्नुभयो, “निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ ।” उहाँका अनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उहाँको भनाइ छ । निकुञ्ज कार्यालयले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ । प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

